नियम २०
आयात अनुमति प्रदान गर्न सक्ने
(१) विदेशी लगानीमा स्थापित उद्योगले ऐनको दफा २९ को खण्ड (ज) बमोजिम विदेशस्थित मूल कम्पनीबाट उत्पादित वस्तु आयातको लागि अनुमति लिन देहायको विवरण खुलाई विभागमा निवेदन दिन सक्नेछ:-

(क) आयात गर्ने वस्तुको प्रकृति, परिमाण र समयावधि,

(ख) आयात हुने वस्तुबाट नयाँ वस्तुको उत्पादन, बजार विकास तथा प्रवर्द्धनमा पुग्ने योगदान ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर विभागले आवश्यक जाँचबुझ गरी आयात गर्ने वस्तुको प्रकृति र परिमाण खुलाई बढीमा एक वर्षको समयावधि तोकी देहायको शर्तमा सम्बन्धित निवेदकलाई त्यस्तो वस्तु आयात गर्न अनुमति प्रदान गर्न सक्नेछ:-

(क) आयात हुने वस्तु नेपाली बजारमा अन्य कुनै व्यक्ति, फर्म, कम्पनीमार्फत. आयात भई बिक्री वितरण नभएको हुनुपर्ने,

(ख) परीक्षणको लागि आयात अनुमति दिँदा स्वीकृत स्कीमको पचास प्रतिशतभन्दा बढी वस्तु आयात गर्न नपाउने,

(ग) आयात गरिएको वस्तु परीक्षणको रूपमा मात्र बिक्री गर्न पाउने।

(३) उपनियम (२) बमोजिम आयात गर्न अनुमति प्राप्त वस्तुको आयात तथा परीक्षण वितरण सम्बन्धी विवरण सम्बन्धित कम्पनीले मासिक रूपमा विभागमा पेश गर्नु पर्नेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको अनुसूची-१-बमोजिमका उच्योगलाई उपनियम (१) बमोजिम मूल कम्पनीबाट उत्पादित वस्तु आयात गर्न अनुमति प्रदान गरिने छैन।